सरकारको कार्यशैलीप्रति कांग्रेसमा चर्को असन्तुष्टि

सरकारको कार्यशैलीप्रति कांग्रेसमा चर्को असन्तुष्टि

  • सुजन चालिसे

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीप्रति अधिकांशले असन्तुष्टि व्यक्त गरिरहेका छन् । पार्टीबाट दबाव दिएर सरकारलाई चुस्त बनाउने नभए नेतृत्व नै परिवर्तन गर्नेसम्मका मत पार्टी बैठकमा व्यक्त भएका छन् । तर कांग्रेस नेतृत्व वर्तमान गठबन्धनलाई भत्काउने ध्येयमा छैन । सरकारको कार्यशैलीप्रति मन नरमाए पनि यसैलाई काँध थापेर बस्नुपर्ने बाध्यता कांग्रेसमा देखिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार, माओवादीकै वरीष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालय, सरकारको कार्यशैली कछुवा गतिमा तर अपजस जति कांग्रेसको टाउकोमा, किन ? नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुको धारणा हो यो ।

कांग्रेसले गत साउनमा बसेको केन्द्रीय समिति बैठकको पहिलो निर्णयस्वरुप जनताले महशुस गर्नेगरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । तर यो २ महिनामा अत्याधिक मूल्यबृद्दि, अर्थतन्त्रका कमजोर सूचक र जनतामा बढ्दै गएको निराशाका कारण सरकारको डेलिभरी नदेखिएको अधिकांशको मत छ । आफ्नै बलमा बनेको सरकारले काम गर्न नसक्दा कांग्रेस बदनाम भइरहेको र यसबाट जोगिन नेतृत्वले सरकारलाई पर्याप्त दवाव दिन नसकेको आरोप पार्टीभित्र लागिरहेको छ ।

अघिल्लो बैठकको निर्णयले सरकारलाई तातो नलागेका कारण कांग्रेसको एउटा पंक्ति सरकारप्रति आक्रोशित छ । कांग्रेसले नै बनाएको सरकार कांग्रेसप्रति जवाफदेही नहुने हो भने, यसको विकल्प खोज्नका लागि समेत तयार हुनुपर्ने युवा नेताहरुको तर्क छ ।

सरकारको विकल्पका बारेमा केहीले प्रश्न उठाए पनि गठबन्धन बदलेर अस्थितरताको खतरा मोल्न कांग्रेस तत्काल तयार देखिँदैन । सरकारको नेतृत्व माओवादीले गरिरहे पनि उपप्रधान तथा रक्षा, अर्थ, परराष्ट्र, कानुन, उद्योग वाणिज्य तथा आपूर्ति लगायत महत्वपुर्ण मन्त्रालयहरु कांग्रेससँगै छ । पार्टीका जिम्मेवार नेताहरुनै सरकारमा सहभागी भएका कारण उनीहरुको माध्यमबाट सरकारलाई दवाव दिनुपर्ने नेताहरु बताउँछन् ।

प्रचण्ड नेतृत्वको सरकार सेवा प्रवाह तथा अर्थतन्त्र सुधारमा सुस्त देखिएको पक्कै हो । तर सरकारको मूल्यांकन गर्दा कांग्रेसले आफ्नै मन्त्रीहरुको कार्यसम्पादन राम्ररी नियाल्नु जरुरी देखिन्छ । नौ वटा मन्त्रालय सम्हालेको कांग्रेसले आफ्नो भागको जिम्मेवारी कुशलतापुर्वक निभाए मात्रै पनि अरुलाई दोष थुपार्नै पर्दैन । त्यसैले आफ्नै पार्टीका मन्त्रीहरुको काम र सेवा प्रवाहबाट जनता कति खुश छन् भन्ने पनि कांग्रेसले हेक्का राख्न जरुरी छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *