अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

काठमाडौँ। 

संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगति महरा, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित भएकी थिइनन्   ।

शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेको छ ।

कार्यक्रममा बोल्दै संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समीक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताएका छन् ।
यस्तै प्रमुख अतिथि सदस्य सचिव महराले आफूले संगीतकार थापाका गीतहरु सुन्ने गरेको भन्दै यो गीत पनि निकै मन परेको जनाइन । उनले थापा जस्ता अथाह प्रतिभाका धनी संगीतकारहरुलाई कसरी राज्यले थप सेवा सुविधा प्रदान गर्दै संरक्षण गर्न सक्छ त्यसमा आफू लागिपर्ने प्रतिबद्धता समेत जनाएकी छिन । गायिका समेत रहेकी सदस्य सचिव महराले संगीतकार थापाको सृजना गीतमा प्राण भर्न सफल रहने गरेको भन्दै मुक्त कण्ठले प्रशंसा समेत गरेकी छिन ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ संगीतकार राजु सिंहले आफू संगीतकार थापाको ठुलो प्रसंसक रहेको जनाए । जहिले पनि केही न केही नविनतम् सृजना पस्कने थापाको खुबी रहेको भन्दै उनले भने – ‘संगीतमा साधना र संस्कारले ठुलो अर्थ राख्छ, यि सबै कुरा संगीतकार थापामा छ । उनको साधना र तपस्या संगीतमा झल्कने गरेको छ ।’

यस्तै संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटाले थापा संगीतकार संघले मात्र नभएर सिङ्गो नेपाली संगीतले नै गर्व गर्ने संगीतकार भएको बताए । जस्तो सुकै परिस्थितिमा पनि निरन्तर संगीतमै सक्रिय रहेको भन्दै उनले संगीतकार थापा सक्रिय मात्र नभएर उत्कृष्ट संगीत साधक भएको पनि बताए ।

यस्तै चर्चित गायक शिव परियारले आफू संगीतकार थापाको सृजनाको फ्यान भएको जनाए । केही गीतमा सहकार्य समेत गरेको भन्दै शिवले आफू उनको संगीतमा गीत गाउन सधै आतुर रहेको समेत बताए । संगीत पढेर, बुझेर सृजनामा लागेकोले पनि उनको सृजनामा संगीत प्रतिको समर्पण झल्कने उनी बताउँछन् । यस्तै गायक परियारले कलाकार चिमरियाको प्रशंसा गर्दै नेपाली म्युजिक भिडियो क्षेत्रले एउटा राम्रो कलाकार पाएको जनाए ।

कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, ब्युटी पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सभापति राइट ट्युनका कार्यकारी निर्देशक शाहीले आफूलाई संगीतकार थापाको सृजना मन परेकैले आफ्नो कम्पनीले लगानी गरेको जनाए । उनले आफ्नो कम्पनीले उत्कृष्ट सृजना गर्ने हरेक स्रष्टासँग सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *