
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम विन अस्ट्रेलियाका निर्देशक डा. स्याली फेल्स्टिड नब्सले उद्घाटन गरिन् । विद्यालय परिसरभित्र निशुल्क पूर्ण शरीर जाँच तथा निशुल्क रोग परीक्षण शिविर सञ्चालन गरिएको छ । शारीरिक समस्याहरूको गुणस्तरीय उपचारको लागि खर्च गर्न नसक्ने मानिसहरूका शिविर गरिएको हो । अस्ट्रेलिया र नेपालका करिब ८ जना विशेषज्ञ डाक्टरहरूले विभिन्न स्वास्थ्य समस्या भएका जनतालाई गुणस्तरीय सेवा र निशुल्क औषधि प्रदान गरेका थिए । शिविरमा दन्त, स्त्रीरोग, चिकित्सक, हाडजोर्नी, नाक, घाँटी, इसिजी र युएसजी, बालरोग आदि सेवाहरू घरेलु वातावरणमा उपलब्ध गराइएका छन् ।
शिविरका फोकल पर्सन डा. सेली फेल्स्टिड नब्सले विद्यालय र अन्नपूर्ण गाउँपालिकसंँग सहकार्य गर्दै विद्यालय र स्थानीय समुदायलाई थप शैक्षिक र स्वास्थ्य सम्बन्धी सहयोग उपलब्ध गराउने वचन दिए । पालिका अध्यक्ष केसीले समाज र देश विकासमा जनस्वास्थ्यको अहम् भूमिका रहने भन्दै त्यस्ता स्वास्थ्य शिविरको महत्वमाथि प्रकाश पारे । उनले स्थानीय समुदायहरूलाई यस प्रकारको सहयोग प्रदान गरेकोमा विन अस्ट्रेलिया र यसका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा अन्नपूूर्ण गापाका उपप्रमुख चन्द्रकला देवकोटा अधिकारी, शिविरका संयोजक आशबहादुर गुरुङ, वडा नम्बर ४ का अध्यक्ष एवं विव्यस अध्यक्ष आइन्दल गुरुङ र गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भरतमान गुरुङले स्वागत तथा शुभकामना व्यक्त गरे । उक्त अवसरमा पालिकाका खेलकुद, युवा तथा शिक्षा शाखा प्रमुख बलराम भुगाईं र स्वास्थ्य शाखाका प्रमुख ऋषिराम पौडेल लगायत सहभागी थिए ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलद्वारा सञ्चालित कार्यक्रममा स्काउट मास्टर तथा सोही विद्यालयको माध्यमिक तहका गणित शिक्षक नवीनराज पौडेलको सहजीकरणमा नवगठित विद्यालय स्काउट समूह घोषणा गरिएको छ ।