
कार्यक्रमको उद्घाटन पोखराका मेयर धनराज आचार्यले गर्ने क्याम्पस प्रम्ुख विरञ्जी गौतमले बताए । उनका अनुसार सम्मेलन सोमबार पुस्तक विमोचन र वृत्तचित्र प्रदर्शनसहितको सार्वजनिक कार्यक्रमबाट सुरु हुनेछ । ‘शेपा र उनीहरूको मौलिक पहिचान’ नामक पुस्तकले शेर्पा जातिको गहिरो सांस्कृतिक र ऐतिहासिक विषयवस्तु समेटेको छ । कार्यक्रममा पुस्तकका केही अंशहरू पढ्ने, प्रश्नोत्तर सत्र र वृत्तचित्र प्रदर्शन समावेश गरिने आयोजकले जनाएका छन् ।
‘लास्ट नोम्याड्स अफ एभरेस्ट’ वृत्तचित्रले खुम्बु क्षेत्रको सबैभन्दा चुनौतीपूर्ण र प्रतिकुल मौसममा पनि परम्परागत शेर्पा पेसा अँगालेको अन्तिम शेर्पा परिवारको कथा समेटेको छ । कार्यक्रममा हेमकान्ती गुरुङका कलाकीर्ति समेत प्रदर्शनीमा राखिने छ । आइडब्लुएस हेमकान्ति आर्ट ग्यालरी र बुद्धिज एटेलियरका तर्फबाट राखिने कलाकीर्ति बिक्रीका लागि उपलब्ध हुनेछन् ।
शिक्षाविद्, उदीयमान अनुसन्धानकर्ता, नीति निर्माता, उद्योग व्यवसायी, मार्केटिङ व्यवसायी, गन्तव्य प्रबन्धकहरूको लागि एक प्लेटफर्म प्रदान गर्नेे उद्देश्य सम्मेलन गर्न लागिएको आयोजकले जनाएका छन् । जलवायु परिवर्तन र कोभिड–१९ महामारीका कारण उत्पन्न अनिश्चितताका कारण उत्पन्न वर्तमान युगमा पर्यटनका नवीनतम दिगोपनका मुद्दा र चुनौतीका बारेमा सम्मेलनमा छलफल हुनेछ ।
सम्मेलनमा डा. पोर्टिया सिफोलो, प्राध्यापक क्लाउडियो मिलानो, सहायक प्राध्यापक याना वेन्गेल, प्राध्यापक डर्क रीसर र प्राध्यापक रुहेट जेनकलगायत वक्ताहरूको प्रस्तुति रहनेछ । ‘नयाँ युगमा रूपान्तरणकारी पर्यटन’ शीर्षकको प्यानल डिस्कसनको अध्यक्षता प्रा. रमेशराज कुँवरले गर्नेछन् । ओटिएस एकेडेमी युके तथा १२ औं अन्तर्राष्ट्रिय गोष्ठीका अध्यक्ष प्राडा युजेनिया विकेन्सको सभापतित्वमा हुने सम्मेलन ३ दिनसम्म चल्नेछ ।