तनहुँमा नियन्त्रणमा आएन डेंगु

तनहुँमा नियन्त्रणमा आएन डेंगु

तनहुँ, १४ कात्तिक । तनहुँमा दैनिक डेंगु संक्रमितको संख्या बढ्दो छ । करिब २ महिनाअघि देखि फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लामा हाल ६ हजार ४ सय ८४ संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । संक्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ ।

व्यास नगरपालिकामा मात्रै ५ हजार ४ सय १५ डेंगु संक्रमित छन् । व्यासको सबैभन्दा बढी व्यास–१ मा १ हजार ४ सय ३० जना संक्रमित छन् ।

कुल संक्रमितमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको व्यास नगर स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले बताए । उनका अनुसार ५४ प्रतिशत महिला संक्रमित भएका हुन् । कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको तथ्यांक छ ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा ४ सय, ऋषिङ गाउँपालिकामा १ सय ८९, भिमाद नगरपालिकामा १ सय ८०, म्याग्दे गाउँपालिकामा १ सय ३, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४ र घिरिङ गाउँपालिकामा ८ संक्रमित भएका छन् ।

वयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएकाले घर वरिपरि पानी जम्न नदिने, सुत्दा झूल प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेजस्ता कुरामा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए ।

संक्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *