पोखरा । पोखरा १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले मंसिर २७ देखि ३० सम्म ‘फिस्टेल स्पोर्टस् फेस्ट’ गर्ने भएको छ ।
आइबी पिवाइपी प्रस्तावित सो विद्यालयले २९ औं वार्षिकोत्सवको अवसर पारेर स्पार्टस् फेस्ट गर्न लागेको हो । विगत २ वर्षदेखि आफूलाई गण्डकी प्रदेशकै एकमात्र प्रगतिशील विद्यालयको रूपमा अगाडि बढाउँदै आएको छ । स्पोर्टस् फेस्टमा देशविदेशका विभिन्न विद्यालयहरू सहभागी हुने आयोजकले जनाएको छ ।
बास्केटबलतर्फ छात्र तथा छात्रा दुवै र सेभेन ए साइड फुटबलमा छात्र समूह सहभागी हुने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् ।
तीनओटै खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी लन टेनिसतर्फ छात्र र छात्रा दुवैमा १६ वर्षमुनि, १२ वर्षमुनि र ९ वर्षमुनिका खेलहरू रहने छन् । विद्यार्थीहरूमा शैक्षिक विकासका साथसाथै खेलकुदमार्फत् उनीहरूको चौतर्फी विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।