डब्लुआरसीले लियो अनलाइनबाटै प्रवेश परीक्षा

डब्लुआरसीले लियो अनलाइनबाटै प्रवेश परीक्षा

पोखरा । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरमा आधारित बिई/बिआर्कको प्रवेश परीक्षा लिएको छ ।

विगत ९ वर्षदेखि काठमाडौंमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै आएकोमा पहिलो पटक काठमाडौं बाहिरसमेत परीक्षा लिइएको हो ।

विसं २०७१ साल देखि इन्जिनियरिङ अध्ययन संस्थानका तत्कालीन डीन प्राडा भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश परीक्षाको सुरुवात गरिएको थियो ।

पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुसी लागेको पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले बताए । उनले आगामी दिनमा कम्प्युटर ल्याबको क्षमता बढाउँदै थोरै सिफ्टमा प्रवेश परीक्षा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस प्रमुख बरालले भने, ‘पहिलो पटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा क्याम्पस प्रशासन अत्यन्त आभारी र खुसी छ । परीक्षा सञ्चालनमा सहभागी भई सहयोग गर्नुहुने शिक्षक, कर्मचारी र आवेदन दिई पश्चिमाञ्चल क्याम्पसलाई आफ्नो परीक्षा केन्द्र बनाउने सबै विद्यार्थीहरूलाई समेत धन्यवाद दिन चाहन्छु ।’

संस्थानका डिन प्राडा शशिधर राम जोशीले प्रवेश परीक्षालाई आंगिक क्याम्पसहरूबाट पनि सञ्चालन गर्न विकेन्द्रीकरणको नीति अपनाएसँगै पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन भएको बताए ।

इन्जिनियरिङ अध्ययन संस्थानले यही कात्तिक १४ गते देखि दैनिक ४ सिफ्टमा कम्प्यटर प्रविधिमा आधारित बिई/बिआर्क प्रवेश परीक्षा काटमाडौं केन्द्रमा सञ्चालन गरिरहेको छ ।

त्यसैगरी कात्तिक १६ गतेदेखि पश्चिमाञ्चल क्याम्पस, पोखरामा समानान्तर रुपमा सञ्चालन भइरहेको हो ।

पश्चिमाञ्चल क्यान्पसको रिसर्च तथा इनोभेसन भवनको ३ वटा आधुनिक कम्प्युटर ल्याबहरूमा पहिलो र दोस्रो दिनको ५ सिफ्टको परीक्षा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

यो परीक्षा कात्तिक १९ गेतसम्म जम्मा १२ सिफ्टमा सम्पन्न हुनेछ क्याम्पसले जनाएको छ । काठमाडौं केन्द्रमा प्रतिसिफ्टमा ३ सय ५० जनाले र पोखरा केन्द्रमा प्रति सिफ्टमा ६० जनाले कम्प्युटरमा आधारित प्रवेश परीक्षामा सामेल भइरहेका छन् ।

पूर्ण सुरक्षित वातावरणमा परीक्षा सञ्चालन भइरहेको र पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन भइरहेको प्रवेश परीक्षाको पनि काठमाडौं केन्द्रबाटै प्राइभेट नेटवर्क र सिसिटिभीमार्फत प्रत्यक्ष अनुगमन भइरहेको बोर्डका अध्यक्ष तथा सहायक डिन प्राडा सुशीलबहादुर बज्राचार्यले बताए ।

उनकाअनुसार पहिलो पटक प्रविधिलाई बिस्तार गरी सफलतापूर्वक परीक्षा सञ्चालन गरिएको हो ।

परीक्षार्थीहरूले अनलाइनबाटै आवेदन दिएर प्रवेशपत्र डाउनलोड गरी भौतिक रुपमा ल्याबमा उपस्थित भई परीक्षा दिएका छन् ।

पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा ७ सय १ जना परीक्षार्थीहरू प्रवेश परीक्षामा सामेल भइरहेका छन् ।

आवेदन दिएका परीक्षार्थीहरू मध्य इन्जिनियरिङ अध्ययन संस्थानका ५ वटा आंगिक क्याम्पसमा २ हजार ४० जना र सम्बन्धन प्राप्त कलेजहरूमा २ हजार ३ सय ४ जना गरी जम्मा ४ हजार ३ सय ४४ जना विद्यार्थीहरूले प्रतिवर्ष इन्जिनियरिङ अध्ययन गर्न पाउँछन् ।

संस्थानले यस प्रवेश परीक्षा भदौ २५ गतेदेखि नै सञ्चालन गर्ने कार्यतालिका प्रकाशन गरेको थियो, तर उक्त सूचना सहित बिद्यार्थी भर्नाको शुल्क वृद्धिको पनि निर्णय सार्वजनिक गरेसँगै विद्यार्थी नेतृत्वबाट विरोध सुरु भएकाले प्रवेश परीक्षा सञ्चालन अवरुद्ध भएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *