मदनकृष्णले जब देखे उमेर घटाउने औषधि …

मदनकृष्णले जब देखे उमेर घटाउने औषधि …

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता, गायक तथा संगीतकार मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध नयाँ गीत सुन न तिमी राम्रो लाग्यो हालै सार्वजनिक गरिएको छ।

उमेर केवल अंक मात्र हो, पाको उमेरमा पनि मानिसभित्र जवान इच्छा र आंकाक्षा जीवित रहन्छ भन्ने प्रेमिल भावमा तयार पारिएको गीतमा प्रतिमा श्रेष्ठको शब्द रचना तथा अनिल शाहीको संगीत रहेको छ।

पाको उमेरमा पनि जवान भएर माया प्रेममा हराउन चाहना व्यक्त गरिएको गीतको भिडियो रमाइलो ढंगले तयार पारिएको छ। बिहान खाली पेटमा खानुपर्ने औषधि खाइयो या खाइएन, नखाउञ्जेल खाको छैन भनेर सम्झिने र निल्नेबित्तिकै बिर्सिने उमेरमा पुगिसकेको पाको उमेरको पुरुषको औषधि खाएरै भए पनि उमेर घटाएर रम्ने चाहना भिडियोमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोअनुसार बिहान खाली पेटमा खानुपर्ने औषधि खाइयो कि खाइएन, नखाउञ्जेल खाको छैन भनेर सम्झिने र निल्नेबित्तिकै बिर्सिने वृद्ध औषधि किन्न फार्मेसीमा पुग्दा भित्तामा उमेर घटाउने औषधि पाइने विज्ञापन देखेर रोमाञ्चित हुन्छ। ऊ औषधि खाएर उमेर घटाई जवान अवस्थामा पुगेको र एक सुन्दर युवतीसँग मायाप्रेममा डुबेको सम्झेर रोमाञ्चित हुन पुग्छ।

जब वास्तविकतामा फर्कन्छ, अघि उमेर घटाउने औषधि पाइने विज्ञापन देखेको उसले चश्मा लगाएर हेर्दा डन्डिफोर हटाउने औषधिको विज्ञापन भएको पाउँछ। अनि विस्मात मान्दै फर्कन्छ। फर्कने बेला जवान अवस्थामा पुगेको कल्पना मात्रले पनि उसमा जोश भरिन्छ र आपूmले टेकेर आएको लठ्ठी फालेर लठ्ठीबिनै फटाफट हिँड्छ।

मदनकृष्णको कलाकार तथा म्युजिक भिडियो निर्देशक पुत्री सराना श्रेष्ठले तयार पारेको गीतको वृद्ध उमेरको पुरुषका चाहना र इच्छाका विम्बात्मक भिडियोमा मदनकृष्ण स्वयंले अभिनय गरेका छन्। मदनकृष्णसँगै अभिनेत्री मिथीला शर्माले सयुक्त अभिनय गरेको गीतको भिडियोमा दुवैका रोमाञ्चक दृश्य खिचिएको छ। मदनकृष्ण र मिथिलाले गीतको भिडियोका लागि सुहाउँदो नृत्यसमेत गरेका छन्। भिडियोमा मदनकृष्ण जवान र वृद्ध दुवै उमेरमा प्रस्तुत भएका छन्।

क्रियटिभ ह्याट्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देशनसँगै परिकल्पना पनि सरानाकै छ भने कोरियोग्राफी सराना र सन्तोष राजवाहक, छायांकन उत्तम हुमागाईं, छायांकन निर्देशन हरि हुमागाईं, सम्पादन र कलर प्रवीण श्रेष्ठ, भीएफएक्स राजेश शाह र कला जटा शंकरको रहेको छ। गीत र भिडियो हेर्नेले यसलाई मनपराएका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *