राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्ती विशेष

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३९ औं जन्मजयन्ती विशेष

विश्व धर्म इतिहासमा किरात धर्मदर्शन महागुरु फाल्गुनन्दको नाम अजर, अमर, अजेय रहेको छ । सनातनका आदि मुहिगुम आङ्सिमाङ येहाङ, लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरिजङगापछि छैटौँ अवतार अवतरण हुनुभएका फाल्गुनन्दले किरात धर्म मुन्धुम, संस्कार, कर्मकाण्ड र ज्ञानकाण्ड सम्पूर्ण थप प्रतिपादन गर्नुभयो । साथै किरात धर्मदर्शनको दार्शनिक विधाका ज्ञानसारहरु र सिद्धान्तका धारहरु तयार गर्नुभएकोले माङअवतार मुहिगुम अङसिमाङ ईश्वरीय प्रतिनिधिको रुपमा सर्वमान्य सर्वसम्मत सर्वसिद्ध विश्वप्रसिद्ध प्रामाणिक छ ।

नेपालको पूर्व पल्लो किरात लिम्बुवान इलाम जिल्लाको चारखोला इभाङको चुक्चिनाम्बा डाँडागाउँमा वि.सं. १९४२ कार्तिक २५ गते पिता जगनवाज लिङदेन माता हँसमति बेघाको साइँला छोराका रुपमा फाल्गुनन्द जन्मनुभयो । जन्मनासाथ आमाको स्तनमा खटिरा निस्की दूध चुस्न नपाएका शिशुलाई कालो बाख्राको दूध खुवाएर बचाइएको थियो । केही दिनमै आमा परलोक हुनुभएकोले टुहुरो बालक बाख्राको दूध पिउँदै पिता बिमाता सौतेनी आमाको स्याहार सम्भारमा हुर्कनुभयो । ज्योतिषी नाम अनुराधा नक्षत्रको प्रथम पाउ नरधोज लिङदेन कुम्भ राशी, पछिबाट रक्षाबन्धनका लागि फलामको चुरा धारण गर्नाले फलामे फलामासिं हुँदै फाल्गुनन्द विख्यात हुनुभयो।

नवशिशु हुँदै मातापिता आर्थिक कारण भुटान प्रदेशिँदा आफू नगई काका–काकीसँग बस्नुभयो । आमाको टुहुरोमाथि बाबुले छोडेर गाएका बालकको जीवनकाल उराठलाग्दो वैरागमय छ । जन्मसिद्ध मासु, जाँड, रक्सी सेवन नगर्ने फलामसिं र काका–काकीसँगको खानपिन नमिलेकोले आफ्नो अंशवण्डा लिएर एक्लै बस्न शुरु गर्नुभयो ।

अंश भागवण्डा गर्दा खेतबारी खन्ने कोदालो, खाना पकाइखाने माटाको हण्डी, तिहुन पकाउने कराही, सिल्बरे थाल, दुई माना पीठो, चार झुत्ता मकै हँसिया–खुर्पा, ३ रोपनी ३ आना लेछेबुङ पाखाबारी उहाँको भागमा परेको थियो ।

यति लिएर भिन्न बस्दै बालक जीवनकालमा उहाँ संकट, ठूलो दुःख–कष्ट, बिघ्न–बाधा–व्यवधानमा हुर्कुनुभयो । खान, लाउनको समस्याले ३–४ माना बनीबुतो गर्दै, अर्काको खेताला, गोठाला गर्दै जीवन धान्दै हुनुहुन्थ्यो । कुखुराका चल्ला पालेर हुर्काउँदा सर्प, स्याल, फ्याउरा, वनचर पशुपक्षीहरुले ती कुखुरा र अण्डा खाइदिनु, हानि–नोक्सानी बेहोर्नु, दुःख–कष्टमाथि महाकष्ट भोग्नुप¥यो उहाँले । यसरी दुःख भोग्न बाध्य हुनुभएका उहाँको जीवनकाल आँसुको सागरमा डुबेको सम्झँदा रोऊँ–रोऊँ लाग्छ ।

बाल्यावस्थामा अचानक बिमारी भएको अवस्थामा आधारातमा जुरुक्क उठेर उहाँ अलप हुनुभयो । रातभरि खोजिए पनि भेटिनुभएन । बिहान खोज्ने क्रममा देवभाइ र माई दोभान फुलुङ्गी खत्रक्पामा भेटिनुभयो । बिमारी निको भइसकेको र स्वस्थ भई प्रश्न गर्दा जवाफमा यस्तो देववाणी गर्नुभयो– एउटा पुरुषले मेरो खुट्टामा सिमीको गेडाजस्तो रोप्दा सुलुलु उम्रेर लहराले रुखसँग बेरी बाँधेर मलाई सोध्न थाल्यो :

देवदूत : मलाई चिन्यौ ?
फलामसिं : अहँ चिनिन ।
दिव्यपुरुष : किन मानमनितो गरिनस् ?
फलामसिं : अहँ मैले केही जानिन ।
देवदूत : पूर्वजन्मको सम्झना बिस्र्याै ।
फलामसिं : बिर्सें, केही थाहा छैन ।
दिव्यपुरुष : राम्रो सम्झनु, थाहा पाउँछौ ।

माङ ईश्वरले बोलाएकाले मैले ल्याएको हुँ भनी माई नदीतिर ओल्याई दिव्यपुरुष अदृश्य भए । ब्रह्माण्डबाट तागेरानिङवाभुमाङ आमारुपमा आई नदीबीच डुबाएर स्वर्गबाट स्वर्णाक्षर, देववाणी शास्त्र मुन्धुम मन्त्रहरु तिरिमिरी, झिलिमिली, जल्दाबल्दा ऊर्जा ज्ञानज्योतिहरु झरेर फलामसिंको मुखमा पसेको वर्णन गरी सुनाए ।

यसरी जलसमाधि ज्ञान प्राप्त गरेको ठाउँ फुलुङ्गी पवित्र स्थल माई माता त्रिदोभान हो । यही ज्ञानबाट यात्रा प्रारम्भ गरेका फलामसिं कालान्तरमा फाल्गुनन्द कहलिए । दाजु हवल्दार इन्डिया आर्मीमा भेट्न जाँदा पल्टनमै राखी तपस्वी हवल्दारसम्म भई ७ वर्षमै नामकाटी किरातीहरुको भाग्य उदय गराउन फर्कनुभयो । वि.सं. १९८८ वैशाख २४ गते पाँचथर लब्रेकुटीमा १७ थुम १० लिम्बुवानको बृहत् चुम्लुङ गरी ७ बुँदे सत्यधर्म मुचुल्का लिखित दस्तावेज नेपालको प्रथम धर्मसभाको निर्णय थियो ।

सुन, चाँदी, तिल, जौ, कुश, दुबो, ढुंगो ७ अस्त्र र ७ मुन्धुम शास्त्र प्रतिपादनका साथै ७÷७ मन्दिर निर्माण गरी ५०÷६० थान मुन्धुम ग्रन्थ तयार गरी किरात धर्मदर्शनको पुनः संस्थापकलाई सोह्रौं राष्ट्रिय विभूति, हुलाक टिकट, कक्षागत जीवनी अध्ययन र २०६८ जनगणनामा राज्यको चोथौ किरात धर्म ८,०७,१६९ जनाले नेपालमा मात्र लेखेको छ । अस्टे«ेलिया, अमेरिका, युके, कोरिया, जापान, भारत, भुटान, बर्मा, मलेसिया, अरबसमेत २०–२५ राष्ट्रमा किरात धर्म स्थापित छ । किरात धर्म अन्तर्राष्ट्रिय दोस्रो महासम्मेलन भइसकेको र फाल्गुनन्द पुनः अवतार आत्मानन्द लिङदेनको अस्तित्व अमर, अजेय रहेको राष्ट्रलाई व्यापक जानकारी छ ।

महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो । मानिसको दुई जातमात्र स्त्री–पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक–अधिकारमा विभेद छैन । सत्य, दया, शान्ति र अहिंसाका उपासक मुक्तिदाता, ज्ञानदाता, चेतनदाता र मानवदाताका रुपमा संसारभर मानिन्छन् भने किरात सभ्यता, वर्ग, समाजका लागि धर्मदर्शनदाता हुन् । राणाकालमा राजद्रोही, देशद्रोही अभियोग लागेका महागुरुको राष्ट्रप्रतिको योगदान चीर अविष्मरणीय रहनेछ । आत्मावाद, अनात्मावाद, परमात्मावाद त्रितत्वाद मुन्धुमवादमा पाइन्छ भन्ने महान् युगपुरुष नेपालमा बुद्ध भगवान्पछिको महागुरु फाल्गुनन्द ६४ वर्षको उमेरमा वि.सं. २००५ चैत २२ गते परमधाम हुनुभयो । उहाँको १३९ औं जन्मजयन्ती मानव एकता विश्वशान्तिका रुपमा झापा जिल्ला शिवसत्ताक्षी न.पा.–९, चिल्लागठमा किरात माङहिम उद्घाटन, फाल्गुनन्द शालिक अनावरण समारोहमा बीसौं हजार भक्तजनहरुको भेलामा देववाणी गर्नुहुने किरात धर्मगुरु आत्मानन्द लिङदेनज्यूको देवसवारी हुने र नेपाल सरकारतर्फबाट वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो प्रमुख अतिथिको रुपमा पाल्नुहुने भएको छ । किरात धर्मको जय । महागुरु फाल्गुनन्द अमर रहुन् । विश्वशान्ति मानव एकता कायम रहोस् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *