कपिलवस्तुमा दूध ट्याङ्कर रुखमा ठोक्किँदा सहचालकको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लु.प्र.०१–००१ क ०८४५ नम्बरको ट्याङ्कर बुधबार राति करिब १०ः५० बजे अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अर्घाखाँची सन्धिखर्क–५ बाँग्लाका २६ वर्षीय सहचालक आशिष अधिकारी गम्भीर घाइते भएका थिए। ट्याङ्करमा च्यापिएका उनलाई स्थानीय र प्रहरीले उद्धार गरी गोरुसिङ्गेस्थित बुद्ध पोलि क्लिनिकमा पुर्‍याएका थिए। थप उपचारका लागि बुटवल पठाइएका अधिकारीको चौराहा अस्पतालमा राति १२ः५५ बजे मृत्यु भएको हो।
ट्याङ्कर बुद्धभूमि–९ बरकलपुरका ३८ वर्षीय महेशप्रसाद चौधरीले चलाएका थिए। दुर्घटनापछि चालक चौधरी र ट्याङ्कर प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *