
कपिलवस्तु, असोज ७ । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपैयाँ बराबरका २४० थान ल्यापटप डिस्प्ले स्क्रिन प्यानलसहित एउटा मोटरसाइकल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब २ बजे कृष्णनगर नगरपालिका–१२ हरिगवातर्फ गस्ती गर्ने क्रममा सडक छेउमा बेवारिसे अवस्थामा रहेका २४० थान ल्यापटप डिस्प्ले फेला पारेको हो ।
प्रहरी निरीक्षक कुँवरका अनुसार बरामद डिस्प्लेको प्रतिथान अनुमानित ७ हजार रुपैयाँका दरले कुल मूल्य १६ लाख ८० हजार रुपैयाँ रहेको छ ।
सोही स्थानबाट यूपी ५५ एडी ५६२१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ । डिस्प्ले र मोटरसाइकलको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो ।
थप अनुसन्धानपछि बुधबार दिउँसो ३ः४० बजे आवश्यक कारबाहीका लागि बरामद सामान तथा मोटरसाइकल भन्सार कार्यालय कृष्णनगरमा पठाइएको प्रहरीले जनाएको छ



