
शहबाज खान/कृष्णनगर
कृष्णनगरमा कार्यरत सशस्त्र प्रहरी बलका दुई जवानमाथि शादा पोशाकमा सर्वसाधारणलाई दुःख दिएको आरोप लागेको छ। एउटा घटनामा होटल तथा वाइन सेन्टर सञ्चालकको घरमा बिना अनुमति प्रवेश गरेको र अर्को घटनामा अटो रिक्शा चालकको चाबी तथा बिलबुक खोसेर धम्की दिएको आरोप सार्वजनिक भएपछि स्थानीयस्तरमा चासो बढेको छ।
स्थानीयका अनुसार कृष्णनगर नगरपालिका–१ स्थित बढया चौधरी वाइन सेन्टरमा दुई जना शादा पोशाकधारी सशस्त्र प्रहरी जवान नास्ता खाने बहानामा पुगेका थिए। केहीबेरपछि उनीहरू वाइन सेन्टरको माथिल्लो तलामा रहेको सञ्चालक बाद्री चौधरीको परिवार बस्ने घरमा बिना अनुमति प्रवेश गरेको आरोप छ।
घरमा अपरिचित व्यक्तिहरू देखेपछि सञ्चालककी श्रीमतीले होहल्ला गरेपछि स्थानीय भेला भएका थिए। त्यसपछि सञ्चालक बाद्री चौधरी माथि पुगेर सोधपुछ गर्दा उनीहरूले स्पष्ट जवाफ नदिएको स्थानीयको भनाइ छ। त्यसपछि उनीहरूलाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुझाउने क्रममा भीडको मौका छोपी एक जना सशस्त्र प्रहरी जवान फरार भएका थिए भने अर्का एक जनालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुखले जानकारी दिएका छन्।
यस्तै, विजयनगर गाउँपालिका–२ लोहरौला निवासी अटो रिक्शा चालक सीताराम थारु (चौधरी) ले पनि सशस्त्र प्रहरीका जवान बुद्धि जीसिविरुद्ध गम्भीर आरोप लगाएका छन्। उनका अनुसार कृष्णनगर भन्सार क्षेत्रबाट यात्रु लिएर जाने क्रममा अटो रिक्शा पछाडि सार्दा जवान बुद्धि जीसीको मोटरसाइकलको साइलेन्सरमा सामान्य स्क्रेच लागेको थियो।
थारुको दाबीअनुसार सामान्य स्क्रेचको क्षतिपूर्ति गर्न आफू तयार हुँदाहुँदै पनि जवान बुद्धिरामले अटो रिक्शाको चाबी र बिलबुक खोसेर “रु. ५,००० दिएपछि मात्रै फिर्ता गर्छु, नत्र भन्सारमा हालिदिन्छु” भन्दै धम्की दिएको र त्यसपछि मोटरसाइकल लिएर त्यहाँबाट हिँडेका थिए। घटनापछि लामो समयसम्म सम्पर्कविहीन रहेको उनले बताएका छन्।
स्थानीयवासीका अनुसार शादा पोशाकमा परिचालन हुने केही सशस्त्र प्रहरीको व्यवहारप्रति सर्वसाधारणको गुनासो बढ्दै गएको छ। हेडलाईनहरु लेख्नु




