
बहादुरगञ्ज: कपिलवस्तुको बहादुरगञ्जमा अवस्थित गणेश प्लाइउड फ्याक्ट्रीको चरम लापरवाही र मनपरीपन सार्वजनिक भएको छ। उद्योगले आफ्नो व्यावसायिक सामग्री – विशेष गरी प्लाइउडका ठूलाठूला थाक र टुक्राटुक्रा – सार्वजनिक सडक तथा पैदल यात्री हिँड्ने पेटी (फुटपाथ) मै थुपारेर राखेको छ।
यसरी सार्वजनिक बाटो नै कब्जा गर्दा पैदल यात्रीहरू मुख्य सडकमै हिँड्न बाध्य भएका छन्, जसले गर्दा जुनसुकै बेला ठूलो सडक दुर्घटना हुने जोखिम बढेको छ।
स्थानीय प्रशासन, नगरपालिका र ट्राफिक प्रहरीको बेवास्ता
यस विषयमा नगरपालिका र ट्राफिक प्रहरी कार्यालय बहादुरगञ्जको भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ। आँखा अगाडि नै सार्वजनिक बाटो कब्जा गरेर सर्वसाधारणको ज्यान जोखिममा पार्दा समेत नगरपालिकासँगै ट्राफिक प्रहरी कार्यालय बहादुरगञ्ज मूकदर्शक बनेर बसेको छ।
नियमित अनुगमन गर्ने, सडक मिचेर राखिएका सामग्री हटाउने र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बोकेका निकायहरूको यो मौनताले फ्याक्ट्री सञ्चालकको मनोबल झनै बढेको छ। स्थानीय बासिन्दाहरूले पटक-पटक समस्या भोग्नु पर्दा पनि स्थानीय सरकार र प्रहरी प्रशासनले कुनै ठोस कदम नचाल्नुले उनीहरूको कार्यशैलीमाथि नै शङ्का उत्पन्न गराएको छ।
सर्वसाधारणको ज्यानसँग खेलवाड गर्ने गणेश प्लाइउड फ्याक्ट्रीलाई तत्काल कानुनी दायरामा ल्याउन, सडकमा थुपारिएका सामग्रीहरू हटाउन र लापरवाही गर्ने निकायहरूलाई जवाफदेही बनाउन आवश्यकता देखिएको छ । यदि समयमै यसको समाधान गरिएन भने हुने सम्भावित दुर्घटनाको जिम्मेवारी फ्याक्ट्री सञ्चालकका साथै सम्बन्धित मौन प्रशासनले नै लिनुपर्ने अवस्था छ ।



